मंगलबार ५ श्रावण २०८३
राजनीति

विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

काठमाडौं । कूटनीतिक नियोगका प्रतिनिधिसँग पर्याप्त भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तयारी थालेका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार भेटघाटका लागि समयतालिका तयार पार्ने काम भइरहेको छ। पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने तयारी गरिएको छ। यद्यपि भेटको मिति भने अझै तय भइसकेको छैन।

स्रोतका अनुसार त्यसपछि अन्य मित्रराष्ट्रका राजदूतसँग पनि क्रमशः भेटवार्ता गरिनेछ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि चैत २५ गते विभिन्न देशका राजदूतसँग सामूहिक भेट गरेका थिए भने जेठ १२ गते युरोपेली संघ (ईयू) सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग पनि संयुक्त भेटवार्ता गरेका थिए।

तर त्यसयता नेपाल भ्रमणमा आएका अमेरिका, चीन तथा भारतका उच्चस्तरीय राजनीतिक र कूटनीतिक प्रतिनिधिसँग प्रधानमन्त्रीले भेट नगरेको भन्दै उनको आलोचना हुँदै आएको थियो। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी, राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत, चिनियाँ प्रतिनिधिमण्डल तथा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरूले भेटको इच्छा राखे पनि प्रधानमन्त्रीसँग औपचारिक भेट हुन सकेको थिएन।

विदेशी प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको नियमित संवाद नहुँदा कूटनीतिक तहमा प्रश्न उठिरहेको अवस्थामा अब व्यक्तिगत भेटघाटमार्फत सम्बन्धलाई थप सक्रिय बनाउने तयारी गरिएको स्रोतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया