सांसदलाई रास्वपाको सर्कुलर: पार्टीसँग समन्वय गरेर मात्रै जनतामाझ जानू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्र तथा जिल्लामा हुने भ्रमणलाई संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन पार्टीसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सांसदहरूको जनभेटलाई केवल औपचारिक कार्यक्रम वा व्यक्तिगत सम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठन सुदृढ बनाउने र जनताका सुझावलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा अघि बढाउन आग्रह गरिएको छ।
रास्वपाले भ्रमणअघि सम्बन्धित जिल्ला समिति र पार्टी संयन्त्रलाई पूर्वसूचना दिन, स्थानीय मुद्दालाई प्राथमिकतामा राख्न, स्थानीय संगठनको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्न, तडकभडक र अनावश्यक खर्चबाट टाढा रहँदै मितव्ययी ढंगले कार्यक्रम गर्न तथा जनताबाट प्राप्त सुझाव, गुनासा र स्थानीय प्रतिवेदनलाई लिपिबद्ध गरी संसदीय दलमा पेस गर्न सांसदहरूलाई निर्देशन दिएको छ।
पार्टीले सांसद र संगठनबीचको प्रभावकारी समन्वयले संस्थागत परिपक्वता, सुशासन र जनताप्रतिको जवाफदेहितालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया