बुधबार ६ श्रावण २०८३
समाज

पूर्वमहानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक करोड ७१ लाख घुस लिएको अख्तियारको आरोप

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएन) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गतका विभिन्न ठेक्काको स्वीकृति, अनुगमन तथा भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै अनियमितता गरेका थिए। सोही क्रममा ठेक्का सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ।

अख्तियारले उक्त घुस रकम लुकाउन अधिकारीले आफ्नी श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा खरिद गरेको जनाएको छ। जग्गा खरिदको वास्तविक मूल्य लुकाएर राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र उल्लेख गरिएको र बाँकी १ करोड ७१ लाख रुपैयाँ विभिन्न बैंक खातामार्फत कारोबार गरी वैध आम्दानीजस्तो देखाउने प्रयास गरिएको आयोगको आरोप छ।

अनुसन्धानपछि अख्तियारले अधिकारीको कार्य भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत भएको निष्कर्ष निकालेको छ। अधिकारी हाल अर्को भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन्।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो, सोही बराबर जरिवाना, कैद सजाय तथा ललितपुरस्थित १३ आना जग्गा जफत गर्न मागदाबी गरेको छ।

यस्तै, घुस दिएको आरोपमा गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालविरुद्ध पनि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समान बिगो, कैद, जरिवाना तथा उक्त जग्गा जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

तपाईको प्रतिक्रिया