लिग–२ को पहिलो खेलमा नेपालको कमजोर ब्याटिङ, नामिबियासामु १५८ रनको लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियासामु १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल निर्धारित ५० ओभर पूरा खेल्न नसकी ४६.५ ओभरमै १५७ रनमा अलआउट भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुदेखि नै लय समात्न सकेन। दुवै ओपनर सस्तैमा आउट भएपछि नेपालको इनिङ्स दबाबमा परेको थियो। ओपनर कुशल भुर्तेल मात्र २ रन बनाएर पेभिलियन फर्किए भने अर्का ओपनर आसिफ शेखले १६ रनको योगदान दिए।
मध्यक्रममा कप्तान रोहित पौडेलले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले ६० बलको सामना गर्दै सर्वाधिक ३१ रन बनाए पनि कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकासहित ३० रन जोडे।
नेपालका अन्य ब्याटरले पनि ठूलो इनिङ्स खेल्न सकेनन्। गुलशन झाले २०, करण केसीले १८ तथा सोमपाल कामीले १५ रन बनाए। बाँकी ब्याटर दोहोरो अंकमा समेत पुग्न नसक्दा नेपाल सानो योगफलमा समेटियो।
बलिङतर्फ नामिबियाका जेजे स्मिथ नेपालको ब्याटिङ लाइनअपमाथि हावी भए। उनले ९.५ ओभरमा १ मेडन राख्दै मात्र २७ रन खर्चेर ६ विकेट लिए। स्मिथको घातक बलिङकै कारण नेपाल ठूलो स्कोर बनाउन असफल भयो।
यस्तै, ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले समान २–२ विकेट लिएर नेपाललाई निरन्तर दबाबमा राखे।
अब खेल जित्न नामिबियाले ५० ओभरमा १५८ रनको लक्ष्य पछ्याउनेछ भने नेपालका बलरहरू कम स्कोरको सफल रक्षा गर्ने चुनौतीमा छन्।
तपाईको प्रतिक्रिया