बुधबार १३ श्रावण २०८३
समाज

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

मंगलबार श्रावण १२, २०८३/ Tuesday 07-28-26

काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा अस्पतालका सबै चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। घटनापछि अस्पतालको आकस्मिकबाहेकका सेवा प्रभावित भएका छन् भने आकस्मिक सेवासमेत अवरुद्ध भएको जनाइएको छ।

आन्दोलनरत चिकित्सकहरूले घटनाका दोषीमाथि तत्काल कानुनी कारबाही गर्न, साथै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामाको माग गरेका छन्। उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चिततासमेत माग गरेका छन्।

यसैबीच, नेपाल चिकित्सक सङ्घको आह्वानमा मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएका छन्। सङ्घले नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधस्वरूप यो आन्दोलन घोषणा गरेको हो।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सङ्घले देशभरका अस्पतालहरूमा ओपीडीसहित आकस्मिकबाहेकका सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो। चिकित्सकहरूको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामीहरूले भने सास्ती बेहोर्नुपरेको छ।

तपाईको प्रतिक्रिया