काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको थियो भने हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट नियन्त्रणमा लिइएको हो।
गत साउन ८ गते त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५: अर्गनाइजेसनल बिहेवियर विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएपछि सीआईबीले घटनाको अनुसन्धान थालेको थियो।
प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएर दुवैमाथि अनुसन्धान अघि बढाइरहेको जनाएको छ। साथै, प्रश्नपत्र चुहावटमा अन्य व्यक्ति वा समूहको पनि संलग्नता रहेको हुन सक्ने भन्दै त्यसतर्फ समेत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
तपाईको प्रतिक्रिया