बुधबार १३ श्रावण २०८३
अर्थ

नेप्सेमा साढे चार अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार श्रावण १२, २०८३/ Tuesday 07-28-26

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले ओरालो लागेको छ। यस दिन नेप्से ४.६४ अंकले घट्दै २,६९६.६७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

परिसूचकसँगै सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित रह्यो।

आज ३४२ वटा कम्पनीका १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढ्दा १६६ वटाको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

मूल्य वृद्धितर्फ एभरेस्ट कलर अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ८६१ रुपैयाँ पुगेको छ। त्यसैगरी, लक्ष्मी उन्नति कोषको इकाइ मूल्य ९.१० प्रतिशतले वृद्धि भई १० रुपैयाँ ९१ पैसा कायम भएको छ।

गिरावटतर्फ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेर प्रतिकित्ता ९६० रुपैयाँमा झरेको छ। सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य पनि ५.८७ प्रतिशतले घट्दै ९ रुपैयाँ ७९ पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ६५४ रुपैयाँ २० पैसाको दरमा २७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशत कम हो।

त्यस्तै, रिडी पावर दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी बन्यो। यसको प्रतिकित्ता ३७२ रुपैयाँका दरले २१ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये ४ समूहमा वृद्धि देखिएको छ भने बाँकी ९ समूहका परिसूचक घटेका छन्।

तपाईको प्रतिक्रिया