बाँध खुल्ने भएपछि महाकाली नदी आसपासका नागरिकलाई नदी किनारमा नजान प्रशासनको आग्रह
बैतडी। भारततर्फ सञ्चालित धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि स्लुइस गेट खोलिने भएको छ। यससँगै महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त जानकारीका आधारमा सार्वजनिक सूचना जारी गर्दै साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिने जनाएको हो।
प्रशासनका अनुसार बाँध खोलिने अवधिमा तथा त्यसपछिका केही समयसम्म महाकाली नदीको बहाव र जलस्तर उल्लेखनीय रूपमा बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
साथै, नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्ने, ढुंगा–बालुवा संकलन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधिमा संलग्न नहुन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी, समन्वय र सतर्कता अपनाउन निर्देशन दिएको छ।
तपाईको प्रतिक्रिया