बिहीबार १४ श्रावण २०८३
समाज

आज गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइँदै

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज गुरु पूर्णिमा पर्व देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ। ज्ञान, शिक्षा र दीक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान, कृतज्ञता र श्रद्धाभाव व्यक्त गर्दै यो पर्व मनाउने परम्परा रहेको छ।

धर्मशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। ज्ञानको प्रकाशद्वारा अज्ञानको अन्धकार हटाउने व्यक्तिलाई गुरु भनिन्छ। जीवनलाई सही मार्ग देखाउने गुरुहरूलाई हिन्दू परम्परामा ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गर्ने गरिन्छ।

शास्त्रमा भनिएको छ–

“गुरुब्रह्मा गुरुविष्णु
गुरुदेवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म
तस्मै श्री गुरवे नमः॥”

माता–पिताजस्तै गुरुलाई पनि देवतासमान मान्दै ‘आचार्यदेवो भवः’ भन्ने मान्यता रहिआएको छ। गुरु पूर्णिमाको अवसरमा विद्यालय, गुरुकुल तथा विभिन्न संघसंस्थाले विशेष कार्यक्रम आयोजना गरी आफ्ना गुरुहरूप्रति सम्मान व्यक्त गर्ने गरेका छन्।

आजै व्यास जयन्ती पनि

गुरु पूर्णिमाकै दिन वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने श्रेय वेदव्यासलाई दिइन्छ।

पाँचौँ वेदका रूपमा मानिने महाभारत पनि वेदव्यासद्वारा नै रचना गरिएको धार्मिक ग्रन्थ हो।

व्यासले पुराणमार्फत मानवतावादी सन्देश दिँदै भन्नुभएको छ–

“अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।
परोपकार पुण्याय, पापाय परपीडनम्॥”

यसको अर्थ अरूको उपकार गर्नु पुण्य हो भने अरूलाई पीडा दिनु पाप हो भन्ने सन्देश हो।

गुरु पूर्णिमाका अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय तथा धार्मिक संस्थाहरूले विविध कार्यक्रम आयोजना गर्दैछन्। यसै क्रममा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष गुरु पूर्णिमा कार्यक्रम आयोजना गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया