बिहीबार १४ श्रावण २०८३
बिश्वो

इरान युद्धमा साउदीको ईन्ट्री : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थित २० लडाकु मारिएको दाबी

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच इरान समर्थित समूहलाई लक्षित गर्दै अमेरिका र साउदी अरबले इराकमा संयुक्त हवाई आक्रमण गरेको दाबी गरिएको छ। मंगलबार राति गरिएको उक्त आक्रमणमा इरान समर्थित पपुलर मोबिलाइजेशन फोर्स (पीएमएफ) का कम्तीमा २० लडाकु मारिएको तथा ३२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

अमेरिकी सेनाका अनुसार आक्रमण गरिएका अड्डाबाट अमेरिकी सैनिक तथा साउदी अरबका ऊर्जा पूर्वाधारमाथि आक्रमणको तयारी भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो।

आक्रमणपछि केही घण्टामै इरानले जवाफी कदमस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै दर्जनौँ ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। यद्यपि अमेरिकी पक्षले सबै मिसाइललाई लक्ष्यमा पुग्नुअघि नै अवरोध (इन्टरसेप्ट) गरिएको दाबी गरेको छ।

यसैबीच, पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा मध्यपूर्वमा चर्किंदो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रका लागि पाकिस्तानका स्थायी प्रतिनिधि आसिम इफ्तिखार अहमदले साउदी अरब र व्यावसायिक जहाजमाथि भएका आक्रमणको निन्दा गर्दै साउदीलाई युद्धमा तान्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले अमेरिका र इरानलाई गत महिना भएको समझदारीको पालना गर्न आग्रह गर्दै सबै पक्षलाई संयम अपनाउन तथा क्षेत्रीय तनाव कम गर्न कूटनीतिक पहल अघि बढाउन आह्वान गरे।

उता, पीएमएफले जारी गरेको विज्ञप्तिमा आफ्ना विभिन्न सैन्य अड्डामाथि आक्रमण हुँदा ठूलो जनधनको क्षति भएको जनाएको छ। संगठनका अनुसार आक्रमणमा धेरै लडाकु मारिएका र घाइते भएका छन् भने भवन तथा अन्य संरचनामा पनि व्यापक क्षति पुगेको छ।

पीएमएफका एक अधिकारीका अनुसार इराकका विभिन्न प्रान्तमा आक्रमण भए पनि निनेवेह प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ मात्रै कम्तीमा १० लडाकुको मृत्यु भएको उनले बताए। प्रारम्भिक विवरणमा आठ जनाको मृत्यु भएको उल्लेख गरिए पनि पछिल्लो विवरणअनुसार मृतकको संख्या बढेर २० पुगेको छ।

 

तपाईको प्रतिक्रिया