नाट्टा अध्यक्षमा जिस्वान तुलाधर श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौँ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
नेपालको पर्यटन क्षेत्रमा २५ वर्षदेखि सक्रिय श्रेष्ठले नाट्टामा १५ वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएकी छन्। अनुभव, नवप्रवर्तन र समावेशी नेतृत्वलाई आधार बनाउँदै उनले नाट्टालाई अझ सशक्त, आधुनिक र सदस्यकेन्द्रित संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी अघि सारेकी हुन्।
श्रेष्ठले नेपालको पर्यटनलाई परम्परागत ट्रेकिङ र पर्वतारोहणमा मात्र सीमित नराखी नयाँ सम्भावनाका क्षेत्र विस्तार गर्नुपर्ने बताएकी छन्। उनले खेल पर्यटन, वेलनेस पर्यटन, फोटोग्राफी पर्यटन, पहुँचयुक्त पर्यटन, सांस्कृतिक तथा जीवनशैली पर्यटन र ग्रामीण तथा सामुदायिक पर्यटनको विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेकी छन्।
उनले यस्ता नयाँ पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न नेपाल सरकारसँग सहकार्य गर्दै छुट्टै प्रवर्द्धन बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
पर्यटन विकासका लागि पूर्वाधार सुधार र नीतिगत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले व्यवसायमैत्री पर्यटन नीति निर्माण, प्रभावकारी समन्वय र पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्न पहल गर्ने बताएकी छन्।
उनको प्रमुख एजेन्डामध्ये एक दीर्घकालीन पर्यटन विकासका लागि एकीकृत पर्यटन विकास कर प्रणालीको अवधारणा पनि रहेको छ। पारदर्शी रूपमा प्रयोग हुने यस्तो कोष पर्यटन प्रवर्द्धन, गन्तव्य विकास र पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा लगानी गरिनुपर्ने उनको धारणा छ।
महिला नेतृत्व र मानव संशाधन विकासलाई समेत प्राथमिकतामा राख्दै श्रेष्ठले पर्यटन क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व क्षमता बढाउने, नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेकी छन्।
नाट्टा सचिवालयलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सदस्यका जिज्ञासालाई २४ घण्टाभित्र सम्बोधन गर्ने प्रणाली, डिजिटल सेवा विस्तार, वेबसाइटमा लाइभ च्याट सुविधा र पारदर्शी सञ्चार प्रणाली लागू गर्ने बताएकी छन्।
ठूला–साना सबै पर्यटन व्यवसायी, इनबाउन्ड तथा आउटबाउन्ड व्यवसायी र काठमाडौं उपत्यका बाहिरका सदस्यलाई समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्ने उनको भनाइ छ।
“यो जिम्मेवारी केवल सेवाको निरन्तरताका लागि होइन, पर्यटन क्षेत्रका वर्तमान चुनौती समाधान गर्दै भविष्यको सम्भावनालाई अघि बढाउने स्पष्ट दृष्टिकोणका साथ खोजेकी हुँ,” श्रेष्ठले भनेकी छन्।
अनुभव, समावेशी नेतृत्व र नेपालको पर्यटन रूपान्तरणको एजेन्डासहित जिस्वान तुलाधर श्रेष्ठ नाट्टा अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएकी छन्।
तपाईको प्रतिक्रिया