सुनसरी घटना: मृतक परिवारलाई दुई लाख राहत दिने निर्णय
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा बुधबार विराटनगरमा बसेको सर्वदलीय बैठकले प्रदेशमा सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढ बनाउन आठबुँदे निर्णय सार्वजनिक गरेको छ।
बैठकले देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्रदेश सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आगजनीबाट क्षति पुगेका घर, पसल र कवलका धनी तथा घाइतेहरूको उपचार र राहतका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि निर्णय गरिएको छ।
बैठकका निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संस्था र प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ। स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने भएको छ।
त्यसैगरी, स्थानीय प्रशासनसँगको सहकार्यमा समुदायस्तरमा सद्भाव यात्रा, सार्वजनिक अपिल तथा मेलमिलाप प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ। सबै धार्मिक समुदायका संघ–संस्थालाई संयुक्त अपिल जारी गर्दै सामाजिक एकता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न पनि बैठकले आग्रह गरेको छ।
बैठकले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउने, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने तथा घटना प्रभावित जिल्ला र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।
तपाईको प्रतिक्रिया