काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार पनि गिरावट देखिएको छ। लगातार तेस्रो कारोबार दिन ओरालो लागेको नेप्से यस दिन ७.७९ अंक अर्थात् ०.२८ प्रतिशतले घट्दै २,६८८.८८ अंकमा कायम भएको हो।
आजको कारोबारमा सहभागी कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १८६ कम्पनीको मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
बुधबार ४८ हजार ७२ पटक भएको कारोबारमार्फत ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर खरिद–बिक्री भएको छ। यस दिन कुल कारोबार रकम ४ अर्ब २ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यसअघि मंगलबार ५५ हजार ५८० पटकको कारोबारमा १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच भएका थिए। त्यस दिन कुल कारोबार रकम ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुगेको थियो।
उपसमूहगत प्रदर्शनतर्फ बुधबार कारोबारमा आएका १३ मध्ये ११ उपसमूहको परिसूचक घटेको छ। सामूहिक लगानी कोष र ‘अन्य’ उपसमूह मात्रै हरियो रहे। सामूहिक लगानी कोषको परिसूचक ०.३१ प्रतिशत तथा ‘अन्य’ उपसमूह ०.४३ प्रतिशतले बढे पनि बाँकी अधिकांश उपसमूहमा आएको गिरावटका कारण समग्र बजार सूचक दबाबमा परेको हो।
तपाईको प्रतिक्रिया