कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई शपथ गराएका हुन्।
नेकपा संसदीय दलका नेता रहेका शाही मंगलबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। प्रदेश प्रमुख जोशीले नेकपा र एमाले संसदीय दलका नेताहरूको सिफारिसका आधारमा उनको नियुक्ति गरेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, सभामुखसहित एमालेका १० र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था छ। हाल नेकपा र एमालेसँग संयुक्त रूपमा २४ सांसदको समर्थन रहेको छ।
यसअघि साउन ९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी यसपटक नेकपाले पाएको हो, जसअनुसार मंगलबहादुर शाही मुख्यमन्त्री बनेका छन्।
तपाईको प्रतिक्रिया