बिहीबार १४ श्रावण २०८३
राजनीति

मन्त्रिपरिषद् बैठकका ९ विधेयक संसद्‌मा पेश गर्ने निर्णय

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

काठमाडौँ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न ९ वटा विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवा सर्त तथा सुविधासम्बन्धी ऐन संशोधन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण, संक्रामक पशुरोग नियन्त्रण, राहदानी ऐन संशोधन र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयक संसद्‌मा पेश गर्न स्वीकृति दिएको हो।

त्यस्तै, बालश्रम निषेध तथा नियमन, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलापसम्बन्धी ऐन संशोधन र कर्मचारी संशोधन ऐन संशोधनसम्बन्धी विधेयक पनि संसद्‌मा पेश गर्न स्वीकृति दिइएको छ।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को छैटौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

तपाईको प्रतिक्रिया