निर्देशन उल्लंघनमा प्रभु बैंकका तत्कालीन सिइओ शेरचनलाई ५ लाख जरिवाना
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको ठहर गर्दै प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरेको छ।
राष्ट्र बैंकका अनुसार प्रभु बैंकले कर्जासम्बन्धी दिइएका निर्देशनहरू पटक–पटक कार्यान्वयन नगरेको, नियामकीय व्यवस्था उल्लंघन गरेको तथा पछिल्ला निरीक्षणमा औंल्याइएका अधिकांश कमजोरी सुधार नगरेको पाइएको छ।
निरीक्षणका क्रममा बैंकले एकीकृत निर्देशनअनुसार कर्जाको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा राष्ट्र बैंकमा पेस गरेको कर्जासम्बन्धी विवरण कोर बैंकिङ प्रणालीको विवरणसँग नमिलेको पनि भेटिएको थियो।
नियामकीय निकायलाई फरक विवरण बुझाएको गम्भीर उल्लंघन भएको निष्कर्षसहित तत्कालीन सिइओ शेरचनलाई व्यक्तिगत रूपमा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले प्रभु बैंकलाई सुधार योजना कार्यान्वयन गर्न निर्देशन दिएको भए पनि पर्याप्त सुधार नभएपछि उक्त कारबाही गरिएको हो। यो निर्णय आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा बैंक तथा वित्तीय संस्थामाथि गरिएको नियामकीय कारबाहीअन्तर्गत सार्वजनिक गरिएको हो।
यसैबीच, बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ।
तपाईको प्रतिक्रिया