पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा ४५ प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४६ प्रतिशतले बढी हो ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल खुद नाफा १३ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । यस वर्षको समीक्षा अवधिमा बैंकहरूको नाफा करिब ६ अर्ब रुपैयाँले बढेको छ ।
पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थान हासिल गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि नाफामा उल्लेख्य सुधार गर्दै १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने अन्य बैंकमा एभरेस्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक रहेका छन् ।
यस अवधिमा सिटिजन्स बैंक घाटाबाट नाफामा फर्किएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकको खुद नाफा पनि गत वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
तपाईको प्रतिक्रिया