रास्वपालाई गगन थापाको प्रश्न– राम्रो काम पार्टीको, नराम्रो चाहिँ प्रधानमन्त्रीको?
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा र नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन् ।
आइतबार समसामयिक राजनीति र सरकारका गतिविधिबारे विशेष सम्बोधन गर्दै थापाले रास्वपाले विगतमा कांग्रेस नेतृत्वको सरकारलाई प्रश्न गर्दा उठाउने गरेको तर्क अहिले आफैँमाथि लागू हुने बताएका हुन् ।
उनले विगतमा कांग्रेस सरकारका गलत कामको आलोचना गर्दा रास्वपाका नेताहरूले सरकारको जिम्मेवारी कांग्रेसकै भएको भन्दै जवाफ दिने गरेको स्मरण गराए ।
‘त्यतिबेला कांग्रेस सरकारमा भएकाले सरकारका कामको जिम्मेवारी कांग्रेसले लिनुपर्छ भन्ने रास्वपाको तर्क हुन्थ्यो । अहिले यही सिद्धान्त रास्वपामा लागू हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे ।
थापाले सरकारका सकारात्मक कामको श्रेय सिंगो रास्वपाले लिने तर कमजोरी देखिँदा प्रधानमन्त्रीमाथि मात्रै जिम्मेवारी थोपर्ने प्रवृत्ति उचित नभएको बताए ।
कांग्रेस–एमाले सरकारका हकमा लागू हुने जिम्मेवारीको सिद्धान्त रास्वपाका लागि पनि समान रूपमा लागू हुनुपर्ने उनको भनाइ थियो । उनले सरकारका राम्रा कामको जस लिने र नराम्रा कामको अपजसबाट पन्छिने छुट रास्वपालाई नभएको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया