वाग्मतीलगायत केही प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौं। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई क्षेत्रनजिक सक्रिय रहेकाले आज देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वाग्मती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोसीका हिमाली र पहाडी क्षेत्र तथा मधेस र लुम्बिनीका पहाडी र तराईका एक–दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही पहाडी र तराई क्षेत्रमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया