शुक्रबार २२ श्रावण २०८३
अर्थ

नेप्सेमा १३.८२ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घट्दै २ हजार ६५४.१५ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतको गिरावट हो।

यसअघि सोमबार १.२० अंक र मंगलबार २१.१५ अंकले घटेको नेप्से बुधबार भने ४.७९ अंकले सुधारिएको थियो। तर बिहीबार बजार पुनः ओरालो लागेको हो।

आज कारोबारमा सहभागी २७६ कम्पनीमध्ये ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

उपसमूहतर्फ व्यापार समूह बाहेक सबै सूचक राताम्मे रहे। व्यापार उपसमूह २० अंकले उकालो लाग्दा उत्पादन तथा प्रशोधन ९३.०४ अंक, जीवन बीमा ८०.७० अंक, निर्जीवन बीमा ७८.६४ अंक तथा होटल तथा पर्यटन उपसमूह ३२.४७ अंकले घटेका छन्।

बिहीबार कुल ६० हजार ३८१ पटक भएको कारोबारमा १० करोड ८० लाख ४ हजार ४२६ कित्ता सेयर किनबेच भएको छ। यसबाट कुल ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर मूल्य बढ्ने कम्पनीहरूमा माथिल्लो लोहोरे खोला जलविद्युत् कम्पनी १५ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा रह्यो। त्यसपछि कंलगा हाइड्रोको ४.६२ प्रतिशत, एनआईबीएल समृद्धि फन्ड–२ को ४.०५ प्रतिशत, एनआईबीएल स्टेबल फन्डको २.८१ प्रतिशत तथा सनिगाड हाइड्रो लिमिटेडको २.४६ प्रतिशतले मूल्य बढ्यो।

यता, एलएल होराइजन–१२ को सेयर मूल्य ६.५० प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट हुनेमा रह्यो। त्यसपछि मेगा म्युचुअल फन्ड–१ को ५.६१ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को ५.१० प्रतिशत, स्नो रिभर्स लिमिटेडको ५ प्रतिशत तथा सानिमा इक्विटी फन्ड–२ को पनि ५ प्रतिशतले मूल्य घटेको छ।

तपाईको प्रतिक्रिया