शुक्रबार २२ श्रावण २०८३
राजनीति

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको आग्रह : ‘यो प्रश्न अब नउठाऔँ’

बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सरकार देशमा शान्ति सुरक्षा कायम राख्न तथा हत्या, हिंसा, बलात्कारलगायतका आपराधिक घटनाको अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुरक्षा व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको र अपराध अनुसन्धान कानुनअनुसार चरणबद्ध रूपमा भइरहेको बताए।

बैठकका क्रममा राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा पीडित परिवारले अझै न्याय नपाएको उल्लेख गर्दै यसको कारण र कहिलेसम्म न्याय दिलाइन्छ भन्नेबारे सरकारसँग जवाफ मागेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले प्रतिप्रश्न गर्दै, “तपाईंहरू सरकारमा हुँदा किन गर्नुभएन?” भने। उनले निर्मला पन्तकी आमाको पीडालाई बारम्बार सार्वजनिक बहसको विषय बनाएर थप घाउ नकोट्याउन आग्रह गर्दै राष्ट्रियसभामा यो विषय पटक–पटक नउठाउन अनुरोध गरे।

मन्त्रीको उक्त अभिव्यक्तिप्रति सांसद विश्वकर्माले आपत्ति जनाउँदै प्रश्न गर्नु सांसदको संवैधानिक अधिकार भएको बताए। उनले सरकारसँग स्पष्ट समयसीमा माग्दै, “अब कति महिना वा कति दिनभित्र निर्मलाले न्याय पाउँछिन्?” भनेर पुनः प्रश्न गरे।

तर गृहमन्त्री गुरुङले उक्त प्रश्नको थप जवाफ दिन अस्वीकार गरे। त्यसपछि उनले बैठकमा अन्य सांसदहरूले उठाएका प्रश्नहरूको भने जवाफ दिएका थिए।

 

तपाईको प्रतिक्रिया