शुक्रबार २२ श्रावण २०८३
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा पाँच वटा विधेयक तथा एउटा समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछन्।

यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा दर्ता गराउनेछिन् भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया