कांग्रेस इतरपक्षको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। आयोजक पक्षले शुक्रबार पत्रकार सम्मेलनमार्फत देउवा भेला कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने भेलाका आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका अनुसार देउवा साउन २६ गते स्वदेश फर्किएपछि कार्यक्रममा उपस्थित भएर आफ्नो धारणा राख्नेछन्।
पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देउवा नेपाल फर्कने क्रममा राज्यको तर्फबाट कुनै धरपकड वा अवरोध भए त्यसको कडा विरोध गरिने चेतावनी पनि दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा हाल श्रीमती आरजु राणासहित हङकङमा रहेका छन्। जेनजी आन्दोलनका क्रममा उनी गम्भीर रूपमा घाइते भएपछि उपचार तथा आरामका लागि विदेश गएका थिए। उनी साउन २६ गते साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको उनका निकटस्थ नेताहरूले बताएका छन्।
देउवामाथि सम्भावित धरपकडको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा कोइरालाले, "यदि उहाँमाथि राज्यको तर्फबाट कुनै कारबाही वा धरपकड गरियो भने त्यसको विरोध गर्छौं," भन्दै पार्टीको स्पष्ट धारणा सार्वजनिक गरेका थिए।
तपाईको प्रतिक्रिया