शनिबार २३ श्रावण २०८३
समाज

देशभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत सकियो

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

काठमाडौं। देशभर यस वर्षको मुख्य खाद्यान्न बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म देशभर धान रोप्न योग्य कुल क्षेत्रफलको ९५.५ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको छ।

विभागको तथ्याङ्कअनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ सकिएको छ।

गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ। गत वर्ष साउन २५ गतेसम्म देशभर ९१.३१ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो।

विशेषगरी मधेश प्रदेशमा रोपाइँमा उल्लेखनीय प्रगति भएको विभागले जनाएको छ। गत वर्ष यही अवधिमा ६६.५४ प्रतिशत मात्र रोपाइँ भएको मधेशमा यस वर्ष साउन २२ गतेसम्म ९४.६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ। यसले आगामी धान उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। त्यहाँ १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रदेशगत धान रोपाइँको अवस्था:

  • सुदूरपश्चिम: १०० प्रतिशत (१,५४,९५० हेक्टर)
  • बागमती: ९७.८२ प्रतिशत (१,१२,०३३ हेक्टर)
  • कर्णाली: ९६.८२ प्रतिशत (४१,९१२ हेक्टर)
  • गण्डकी: ९५.५७ प्रतिशत (८९,४५९ हेक्टर)
  • लुम्बिनी: ९४.८३ प्रतिशत (२,८५,७८७ हेक्टर)
  • मधेश: ९४.६५ प्रतिशत (३,६५,२९१ हेक्टर)
  • कोशी: ९३.६९ प्रतिशत (२,५८,९५० हेक्टर)

तपाईको प्रतिक्रिया