शनिबार २३ श्रावण २०८३
अर्थ

नेप्से ४ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ७७ करोडमा सीमित

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घट्दै २६५० अंकमा पुगेको छ। दिनभर बजारमा बिक्री दबाब देखिँदा अधिकांश समय परिसूचक रातो संकेतमा रह्यो।

बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा शुक्रबार यो रकम घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो।

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै उपसमूहका सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ।

उपसमूहतर्फ बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.२१, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४ तथा अन्य समूह ०.१४ प्रतिशतले घटे। यता उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशत, व्यापार ०.१९ प्रतिशत र माइक्रोफाइनान्स ०.०१ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह सबैभन्दा सक्रिय रह्यो, जहाँ १ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भयो। वाणिज्य बैंक समूहमा ५१ करोड, उत्पादन तथा प्रशोधनमा २९ करोड तथा विकास बैंक समूहमा १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

व्यक्तिगत कम्पनीतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशतले बढेर सबैभन्दा धेरै लाभ गर्ने कम्पनी बन्यो। त्यसपछि सोलु हाइड्रोपावरको ३.९३ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९० प्रतिशतले मूल्य वृद्धि भयो।

यता अपर लोहोरेखोला जलविद्युत्को सेयर मूल्य ६.९३ प्रतिशतले घट्दा सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। आँखुखोला जलविद्युत्को मूल्य पनि २.९४ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा शुक्रबार सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत् सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया