शनिबार २३ श्रावण २०८३
माैसम

वर्षा र पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, केही मार्गमा राति सवारी रोक

शनिबार श्रावण २३, २०८३/ Saturday 08-08-26

काठमाडौं। लगातारको वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। कतिपय सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द हुँदा केहीमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर तथा सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात प्रभावित भएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, वर्षायाममा सडक जोखिम बढेपछि कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन्।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडकखण्ड पनि अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ निलदोर्जे क्षेत्रमा सल्लेरी–लुक्ला सडक र तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्।

 

तपाईको प्रतिक्रिया