काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना व्यक्त गरेका छन्।
सोमबार बिहान प्रधानमन्त्री शाहसँग करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।
गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले करिब चार महिनापछि भारतीय राजदूतसँग भेटवार्ता गरेका हुन्। यसअघि वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग पनि प्रधानमन्त्री शाहले भेट गर्न अस्वीकार गरेका थिए।
प्रधानमन्त्री शाहसँग नयाँ सरकार गठनपछि संवाद गर्न तथा उनको सम्भावित भारत भ्रमणका विषयमा छलफल गर्न मिस्री वैशाख २८ गते नेपाल आउने तयारीमा थिए। तर, अन्तिम समयमा उनको नेपाल भ्रमण स्थगित भएको थियो।
पछिल्लो समय सरकार विभिन्न चुनौतीमा घेरिएका बेला प्रधानमन्त्री शाहले छिमेकी मुलुकका राजदूतहरूसँग प्रत्यक्ष संवाद र सम्बन्ध विस्तारलाई प्राथमिकता दिन थालेका छन्।
भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँगको भेटमा प्रधानमन्त्री मोदीको तर्फबाट न्यानो शुभकामना व्यक्त गरेको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा कुराकानी भएको बताएका छन्।
तपाईको प्रतिक्रिया