रास्वपा सांसद आचार्यद्वारा ‘संसदीय सुधार समिति’ गठन गर्न माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले संसद्को कार्यशैली र अभ्यास सुधारका लागि ‘संसदीय सुधार समिति’ गठन गर्न माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले अहिलेको संसदीय अभ्यास धेरै हदसम्म कर्मकाण्डी बनेको भन्दै यसको प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने बताए।
उनले वर्तमान संसदीय अभ्यासबाट सांसदहरू सन्तुष्ट छन् कि छैनन् भन्ने विषयमा सबै सांसदबीच सर्वेक्षण गर्नुपर्ने धारणा राखे।
‘मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसदमा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण गर्नुपर्छ,’ उनले भने।
आचार्यले अहिलेको संसदीय अभ्यासले सांसदहरूको क्षमता र भूमिकालाई प्रभावकारी रूपमा उपयोग गर्न सकेको छ कि छैन भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको बताए।
यदि धेरै सांसदको बुझाइ पनि आफ्नो जस्तै रहेको भए संसद्को अभ्यास सुधारका लागि सामूहिक रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।
उनले संसद्लाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन ‘संसदीय सुधार समिति’ गठन गरी आवश्यक अध्ययन तथा सुधारको काम अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए।
तपाईको प्रतिक्रिया