‘प्रधानमन्त्रीज्यू, कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : सांसद काउचा
काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहलाई आलोचनालाई शत्रुताका रूपमा नभई सुधारको अवसरका रूपमा लिन आग्रह गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै काउचाले सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न गर्नु घेराबन्दी नभएको र प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु स्वाभाविक संसदीय अभ्यास भएको बताइन्।
प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहज्यू, तपाईं कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न।’
प्रधानमन्त्री सत्ता पक्षको मात्रै नभई सम्पूर्ण देशको प्रधानमन्त्री भएको भन्दै काउचाले संसद् र जनताप्रति जवाफदेही बन्न आग्रह गरिन्।
उनले गत जेठ १७ गते प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषय उठाउँदै उक्त भनाइ सच्याउन माग गरिन्। उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्दा उनको राजनीतिक ओज घट्ने नभई अझ बढ्ने काउचाको तर्क थियो।
‘प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय कूटनीतिमा पनि असर गर्छ। सीमा र सार्वभौमसत्ताको विषयमा आक्रोश र उत्तेजना होइन, संयमता चाहिन्छ,’ उनले भनिन्।
प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग नियमित संवाद गर्ने बताउँदै आए पनि व्यवहारमा त्यसअनुसार संवाद हुन नसकेको उनको आरोप थियो। उनले प्रधानमन्त्रीलाई आलोचनालाई शत्रुताका रूपमा नलिई त्यसलाई सुधारको अवसरका रूपमा लिन सुझाव दिइन्।
काउचाले देश र जनताको हितमा सरकारका सकारात्मक कदममा प्रतिपक्षले साथ दिने प्रतिबद्धता जनाउँदै संविधानभन्दा माथि कोही पनि हुन नसक्ने बताइन्।
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न। देश र जनताको हितका लागि तपाईंलाई प्रतिपक्षले साथ दिन्छ। तर संविधानभन्दा माथि कोही पनि छैन,’ उनले भनिन्।
प्रधानमन्त्रीले सचिवालयबाट मात्रै देश सञ्चालन गर्न खोज्नु उचित नभएको भन्दै उनले संविधानको मर्मअनुसार संसद् र राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्नुपर्ने धारणा राखिन्।
उनले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग रुलिङमार्फत प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने व्यवस्था मिलाउनसमेत आग्रह गरिन्।
तपाईको प्रतिक्रिया