काठमाडौँ । सोमबारको कारोबारमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। यस दिन नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा बन्द भएको हो।
परिसूचक घटेसँगै सेयर बजारको कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा केही कम भएको छ। शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।
सोमबार ३५२ वटा धितोपत्रका १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये ८२ वटाको सेयर मूल्य बढ्दा १८० कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले बढेको छ। बैंकको प्रतिकित्ता मूल्य १ हजार १५५ रुपैयाँ २० पैसा पुगेको छ। त्यस्तै, दरम खोला हाइड्रोको सेयर मूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता ६२० रुपैयाँ पुगेको छ।
यता, रिलायबल समृद्धि योजना–२ को मूल्य सर्वाधिक ९.४० प्रतिशतले घटेको छ। यसको प्रतिइकाइ मूल्य ९ रुपैयाँ ३ पैसामा झरेको छ। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि ८.८७ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ४६७ रुपैयाँमा सीमित भएको छ।
कारोबार रकमका आधारमा सोमबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ७११ रुपैयाँका दरले कुल ४६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। उक्त कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.३४ प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा रिडी पावर दोस्रो स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३८४ रुपैयाँ ९० पैसाका दरले २९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सोमबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने नौ समूहको परिसूचक घटेको छ।
तपाईको प्रतिक्रिया