मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले जीवनमा कहिल्यै मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै शाहीले आफूले मदिरा सेवन गरेर जथाभावी बोलेको तथा अश्लील भिडियोसँग जोडिएको भन्दै सामाजिक रूपमा फैलाइएका आरोपप्रति आपत्ति जनाएका हुन्।
आफूमाथि लगाइएका आरोप पुष्टि गर्न संसद्का स्वास्थ्यकर्मी र चिकित्सक सम्मिलित टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले चुनौती दिएका छन्। उनले जन्मेदेखि हालसम्म आफूले मदिरा सेवन नगरेको दाबी गर्दै शरीरका विभिन्न भागको परीक्षण गर्नसमेत आग्रह गरे।
‘म आज आफैंलाई अग्निपरीक्षा दिन संसद्को रोस्ट्रममा उभिएको छु,’ शाहीले भने, ‘मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मेरो शरीरमा मदिराको एक थोपा पनि प्रयोग भएको प्रमाण भेटिएमा म सांसद पदबाट राजीनामा दिन तयार छु।’
शाहीले आफूविरुद्ध फैलाइएको गलत र भ्रामक सूचनाका कारण मानसिक दबाबमा परेको बताए। उनले इतिहासमा गलत सूचनाका कारण भीमसेन थापाले आत्महत्या गरेको प्रसंग उल्लेख गर्दै भ्रामक सूचनाले व्यक्तिको जीवनमा गम्भीर असर पार्न सक्ने बताए।
उनले आफूविरुद्ध आरोप लगाउने व्यक्तिहरूको पनि स्वास्थ्य परीक्षण गरिनुपर्ने माग राखे। आफ्नाबारे लगाइएका आरोप गलत प्रमाणित भए भ्रामक सूचना फैलाउने र आरोप लगाउनेहरूको समेत स्वास्थ्य परीक्षण गरिनुपर्ने उनको भनाइ थियो।
शाहीले आफूलाई लक्षित गरी फैलाइएका आरोपलाई व्यक्तिगत विषयमा मात्र सीमित नराखी समाजमा गलत सूचना फैलाउने प्रवृत्तिको एउटा उदाहरणका रूपमा लिनुपर्ने बताए।
तपाईको प्रतिक्रिया