सोमबार २५ श्रावण २०८३
राजनीति

फेसबुकको भ्युजले देश चल्दैन, आधिकारिक माध्यमबाट सम्बोधन गरियोस्’ : सांसद घतानी

सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26

काठमाडौं।  नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको विषयमा आपत्ति जनाएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले राष्ट्रका नाममा गरिने सम्बोधन सामाजिक सञ्जालको भ्युज वा मोनिटाइजेसनसँग जोडिन नहुने बताइन्। उनका अनुसार यस्ता सम्बोधन राज्यका आधिकारिक सञ्चारमाध्यममार्फत प्रसारण हुनुपर्छ।

‘देश फेसबुकको भ्युजले चल्दैन। राष्ट्रकै नाममा गरिने सम्बोधन फेसबुकतिर होइन, आधिकारिक सञ्चारमाध्यमबाट आउनुपर्छ,’ उनले भनिन्।

प्रधानमन्त्रीको सम्बोधन फेसबुक पेजबाट लाइभ गरिएकोप्रति प्रश्न उठाउँदै उनले भनिन्, ‘राष्ट्रलाई सम्बोधन गरेको हो कि आफ्नो फेसबुक पेजको मोनिटाइजेसनलाई बलियो बनाएको हो?’

घतानीले प्रधानमन्त्री शाहले गत जेठ १७ गते नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा पनि स्पष्टीकरण मागिन्। उनले उक्त अभिव्यक्ति कुन तथ्य तथा कूटनीतिक प्रमाणका आधारमा दिइएको हो भन्ने स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरिन्।

‘हाम्रो सीमा र भूगोल कुनै मजाकको विषय होइन। प्रधानमन्त्रीले कुन तथ्य र कुन कूटनीतिक प्रमाणका आधारमा नेपालले भारतको सीमा मिच्यो भन्नुभयो?’ उनले प्रश्न गरिन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत आपत्ति जनाउनुपर्ने उनको भनाइ थियो।

घतानीले देशको सार्वभौमिकता सर्वोच्च विषय भएकाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने, त्यसका लागि क्षमा माग्नुपर्ने र उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरिन्।

 

तपाईको प्रतिक्रिया