सोमबार २५ श्रावण २०८३
राजनीति

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी सांसदको माग

सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भन्ने दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभामा विरोध जनाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याएका हुन्। उनीहरूले उक्त विषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरे।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्न समय दिएका थिए।

काउचाले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीबाट अहिलेसम्म स्पष्ट जवाफ नआएको र सदनलाई विश्वस्त पार्ने प्रयाससमेत नभएको भन्दै आपत्ति जनाइन्। प्रतिपक्षले सरकारसँग प्रश्न गर्नु र सचेत गराउनु घेराबन्दी वा अपमान नभएको उनको भनाइ थियो।

देशको हितमा चालिने सही कदममा प्रतिपक्षले सरकारलाई साथ दिने बताउँदै उनले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र संसदीय मर्यादा कमजोर बनाउने विषयमा भने प्रतिपक्ष मौन बस्न नसक्ने स्पष्ट पारिन्।

उनले प्रधानमन्त्रीलाई रुलिङमार्फत सदनमा उपस्थित गराई सीमासम्बन्धी अभिव्यक्तिबारे जवाफ दिन लगाउन सभामुखसँग माग गरिन्।

त्यस्तै, एमाले सांसद नीता घतानीले सत्ता पक्षका सांसदहरूलाई गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गरिन्।

सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल सधैँ स्थायी रहने उनको भनाइ थियो। प्रतिपक्ष सदन अवरुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले जनताका समस्या उठाएर जिम्मेवार रूपमा सदन सञ्चालन गर्न आफूहरू चाहेको बताइन्।

अन्य विपक्षी दलका सांसदहरूले पनि प्रधानमन्त्रीको ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने र त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया