२८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा लिन्छ : मोहन बस्नेत
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएको गतिरोध तत्काल अन्त्य गर्दै कांग्रेसलाई थप बलियो र प्रभावकारी बनाउन नेतृत्वले निकास दिनुपर्ने बताएका छन्।
कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले पार्टी सभापति गगन थापालाई आगामी २८ साउनभित्र वर्तमान समस्या समाधानका लागि उपयुक्त निकास दिन समयसीमा दिएका हुन्।
उनले तोकिएको समयभित्र नेतृत्वबाट निकास नआए २९ साउनदेखि कांग्रेसले नयाँ कार्यदिशा तय गर्नुपर्ने अवस्था आउने चेतावनी दिए। मुलुकमा बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न तथा देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो, सशक्त र एकताबद्ध राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।
बस्नेतले कांग्रेसलाई पुनर्जीवित गर्दै संगठनलाई गतिशील र ऊर्जाशील बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो।’
देशलाई राजनीतिक निकास दिन र विभिन्न राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै निरंकुश प्रवृत्तिको सामना गर्न सक्ने कांग्रेस आवश्यक रहेको उनले बताए।
बस्नेतले २८ साउनसम्म सभापति थापाबाट निकास नआए त्यसको भोलिपल्टदेखि पार्टीले नयाँ कार्यदिशा अवलम्बन गर्न सक्ने स्पष्ट पारे। कांग्रेस विभाजन गर्ने उद्देश्य नभई पार्टीलाई अझ बलियो र एकताबद्ध बनाउन नेताहरू देशभर सक्रिय रहेको उनको दाबी थियो।
वर्तमान राजनीतिक चुनौतीको सामना गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन कांग्रेसले पार्टीभित्रैबाट प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्नुपर्ने बस्नेतको धारणा छ।
तपाईको प्रतिक्रिया