सीटीईभीटीका करार तथा ज्यालादारी श्रमिकद्वारा विभिन्न माग राख्दै केन्द्रीय कार्यालय घेराउ
भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग अघि सार्दै सानोठिमीस्थित परिषद्को केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
रोजगारीको सुरक्षा, हाल कार्यरत पदमै निरन्तरता र सेवा–सुविधाको सुनिश्चिततालगायत माग राख्दै करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले कार्यालय परिसरमा धर्ना दिएको हो।
समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा फर्काउनुपर्ने माग गरेको छ। त्यस्तै, करार कर्मचारीलाई दसैँ पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायत सुविधा उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ।
मासिक ज्यालादारी कर्मचारीलाई हालकै अवस्थामा काम गर्न दिनुपर्ने, ड्रेसलगायत सुविधा उपलब्ध गराउनुपर्ने तथा उनीहरूको सेवा–सर्त एकतर्फी रूपमा परिवर्तन गर्न नहुने समितिको भनाइ छ।
आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न पनि समितिले व्यवस्थापनसँग आग्रह गरेको छ।
श्रमिकहरूले आफ्ना माग पूरा गर्ने लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन्। व्यवस्थापनसँग टकराव नभई संवाद र सहमतिमार्फत समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै समितिले माग सम्बोधन नभएसम्म खबरदारी जारी राख्ने जनाएको छ।
तपाईको प्रतिक्रिया