कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो
काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा इबोला भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ। कङ्गोमा तीन महिनाअघि इबोला प्रकोप घोषणा गरिएको थियो।
सरकारी तथ्याङ्कअनुसार पछिल्लो तीन सातामै कम्तीमा एक हजार जनाको मृत्यु भएको छ। इबोला सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको समाचार संस्था अलजजीराले जनाएको छ।
हिजोसम्म कङ्गोका पाँच प्रान्तमा ४ हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा २ हजार ११ जनाको मृत्यु भइसकेको छ।
यसैबीच, अन्तर्राष्ट्रिय अधिकारीहरूले कङ्गोमा फैलिएको इबोला महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्य पूर्वाधार सुदृढीकरण गर्दै उपचार केन्द्र विस्तारको काम भइरहेको जनाएको छ। उक्त प्रयासमा कङ्गोको स्वास्थ्य मन्त्रालयसँगै युनिसेफ, विश्व खाद्य कार्यक्रमलगायत मानवीय साझेदार संस्थाहरूले सहयोग गरिरहेका छन्।
इबोला संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट सर्न सक्ने गम्भीर संक्रामक रोग हो। यसले उच्च मृत्युदर निम्त्याउन सक्छ।
तपाईको प्रतिक्रिया