बुधबार २७ श्रावण २०८३
राजनीति

तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अख्तियारको अनुसन्धान तीव्र

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रधानमन्त्रीका पूर्वप्रमुख स्वकीय सचिवसँग सम्बन्धित विभिन्न आरोपबारे अनुसन्धान अघि बढाएको विवरण सार्वजनिक भएको छ।

हिमालय टेलिभिजनको विवरणअनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहाल र केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सम्बन्धित विषयमा अख्तियारले छानबिन गरिरहेको छ।

भानु देउवामाथि शक्ति दुरुपयोग तथा अकुत सम्पत्ति आर्जनसम्बन्धी आरोपबारे अनुसन्धान भइरहेको बताइएको छ। अख्तियारले उनको सम्पत्ति, बैंक खाता तथा शेयर कारोबारसम्बन्धी विवरण अध्ययन गरिरहेको जनाइएको छ।

त्यस्तै, गंगा दाहालसँग सम्बन्धित सम्पत्ति तथा वित्तीय कारोबारबारे पनि अख्तियारले विभिन्न निकायबाट कागजात तथा विवरण संकलन गरिरहेको विवरणमा उल्लेख छ।

राजेश बज्राचार्यसँग सम्बन्धित नेपाल ट्रस्टको जग्गा लिज प्रकरण तथा शरणार्थीसम्बन्धी प्रकरणबारे समेत अनुसन्धान अघि बढाइएको बताइएको छ।

यी अनुसन्धानका विषयमा अख्तियारले कागजात संकलन, विवरण अध्ययन तथा बयानलगायतका कानुनी प्रक्रिया अघि बढाइरहेको जनाइएको छ। यद्यपि, अनुसन्धानकै क्रममा रहेका विषयमा आरोप पुष्टि भइसकेको मान्न नमिल्ने भएकाले अन्तिम निष्कर्ष सम्बन्धित निकायको अनुसन्धान तथा कानुनी प्रक्रियापछि मात्र स्पष्ट हुनेछ।

 

तपाईको प्रतिक्रिया