बुधबार २७ श्रावण २०८३
समाज

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले ग्यासको चरम अभावका कारण उपभोक्ता समस्यामा परेको विषय पटक–पटक उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्।

अध्यक्ष दाहालले बजारमा ग्यास सहज रूपमा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका छन्। उनले शून्य र विशेष समयमा सांसदहरूले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेका समस्याबारे आवाज उठाइरहेको तथा जनस्तरबाट समेत व्यापक गुनासो आएको उल्लेख गरे।

उनले भने, ‘बजारमा ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।’

पछिल्लो समय बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन्। ग्यासका लागि उपभोक्ताहरू लामो समय लाइन बस्नुपर्ने तथा सहज रूपमा सिलिन्डर नपाउने अवस्था देखिएपछि सांसदहरूले पनि सरकारसँग तत्काल आपूर्ति व्यवस्था सुधार गर्न माग गर्दै आएका थिए।

राष्ट्रिय सभाको अध्यक्षबाट रुलिङ भएपछि सरकारले ग्यास आपूर्तिको वास्तविक अवस्था, बजारमा देखिएको अभावको कारण तथा अनुगमनबारे सदनलाई जानकारी गराउनुपर्नेछ। साथै, उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने वातावरण बनाउन आवश्यक कदम चाल्न सरकारमाथि दबाब बढेको छ।

तपाईको प्रतिक्रिया