बुधबार २७ श्रावण २०८३
समाज

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निम्तो

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री बालेन शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका छन्।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन औपचारिक निमन्त्रणा प्राप्त भएको जानकारी दिए।

सहसचिव ढकालका अनुसार टर्कीका राष्ट्रपति एर्दोगानबाट प्राप्त निमन्त्रणा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ। तर सम्मेलनमा प्रधानमन्त्री स्वयं सहभागी हुने वा अन्य कुनै तहबाट प्रतिनिधित्व हुने भन्नेबारे भने निर्णय भइनसकेको उनले बताए।

‘निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं। कुन तहबाट सहभागिता हुने भन्ने विषयमा जानकारी आउन बाँकी छ,’ ढकालले बैठकमा भने।

कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। सम्मेलनमा नेपालले जलवायु न्याय, जलवायुजन्य हानि तथा नोक्सानीको क्षतिपूर्ति र पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

जलवायु परिवर्तनको असरबाट प्रभावित हिमाली तथा पर्वतीय मुलुकका साझा सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारी पनि नेपाल सरकारले गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया