शनिबार २३ श्रावण २०८३
बिजनेस

राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गर्ने ‘क’ वर्गका तीन वाणिज्य बैंक र एक बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि कारबाही गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न प्रकृतिका कमजोरीका आधारमा सचेत गराउनेदेखि नगद जरिवानासम्मको कारबाही गरिएको हो।

सबैभन्दा कडा कारबाही प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनमाथि भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम उनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकका अनुसार शेरचनले केन्द्रीय बैंकका निर्देशन पटक–पटक उल्लंघन गरेको, कर्जाको उचित वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणभन्दा फरक विवरण राष्ट्र बैंकमा पेस गरेको पाइएपछि उक्त कारबाही गरिएको हो।

यससँगै प्रभु बैंकको सञ्चालक समितिलाई निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरू तत्काल सुधार गर्न निर्देशन दिइएको छ। सुधारात्मक उपाय अवलम्बन गर्ने प्रतिबद्धतासहित कबुलियतनामासमेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

यता, राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ विपरीत समयमै खाता रोक्का नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराइएको छ।

त्यसैगरी, कृषि विकास बैंकले पनि विशेष स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंक तथा कानुन कार्यान्वयन गर्ने निकायको अनुरोधअनुसार समयमै खाता रोक्का नगरेको र विनियमावलीअनुसारको व्यवस्था पालना नगरेकाले सचेत गराउने कारबाहीमा परेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न, नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा वित्तीय अनुशासन सुदृढ बनाउन नियमित रूपमा अनुगमन र आवश्यक कारबाही गर्दै आएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया