कोशी सरकारबाट कांग्रेस बाहिरियो, चार मन्त्री र एक राज्यमन्त्रीको सामूहिक राजीनामा
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले सामूहिक राजीनामा दिएका छन्। कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवारको नेतृत्वमा राजीनामा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारीमन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन्।
राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेस सरकारबाट बाहिरिएको बताउनुभयो।
यसअघि एमाले र नेकपाबीच प्रदेश सरकार गठनका विषयमा तीनबुँदे सहमति भएपछि कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिए पनि कांग्रेसका मन्त्रीहरू भने सरकारमै रहँदै आएका थिए।
बुधबार मन्त्रीहरूलाई सामूहिक राजीनामा गराउँदै कांग्रेसले औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरेको हो।
कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा सरकारको आगामी राजनीतिक समीकरणबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया