व्यवसायीले आवश्यकताभन्दा बढी ग्यास राखे कारबाही गर्ने आयल निगमको चेतावनी
काठमाण्डौ। नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।
बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले यस्तो आग्रह गरेको हो।
निगमका अनुसार असार ३१ गतेदेखि १४ दशमलव २ किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिन्डर नियमित रूपमा बिक्रीवितरण भइरहेको छ। साविकको तुलनामा अहिले झण्डै २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको निगमको दाबी छ।
आपूर्ति बढे पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो आएपछि निगमले बजार अनुगमन तीव्र बनाएको जनाएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको निगमले जनाएको छ।
व्यावसायिक प्रयोजनका लागि आवश्यकताभन्दा बढी सिलिन्डर थुपारेर राख्दा सर्वसाधारण उपभोक्ताका लागि बजारमा ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ।
निगमले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने मात्रामा मात्रै ग्यास सिलिन्डर मौज्दात राख्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्नसमेत निगमले अनुरोध गरेको छ।
निगमले आफ्नो आग्रहविपरीत कुनै पनि होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस वा अन्य व्यावसायिक प्रतिष्ठानले अनावश्यक रूपमा एलपी ग्यास सिलिन्डर मौज्दात राखेको भेटिए प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
तपाईको प्रतिक्रिया