आइतबार २२ कार्तिक २०८३
समाज

भन्सार छलेर ल्याइएको २५ लाखभन्दा बढीको भारतीय फूल सशस्त्र प्रहरीद्वारा नष्ट

आइतबार कार्तिक २२, २०८३/ Sunday 11-08-26

काठमाडौँ । झापाको भद्रपुरबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएको २५ लाख ६३ हजार रुपैयाँभन्दा बढी मूल्यको भारतीय फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार (कार्तिक २२ गते) मध्याह्न १२ बजे भद्रपुर नगरपालिका–८ स्थित देवीबस्ती क्षेत्रबाट उक्त फूल बरामद गरेको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले अवैध रूपमा भित्र्याइएको फूल नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरीका अनुसार बरामद फूलमध्ये २२ लाख ६८ हजार ४ सय रुपैयाँ मूल्यका ११ हजार ३ सय ४२ थान भारतीय सयपत्रीका माला र २ लाख ९५ हजार रुपैयाँ मूल्यका १२ झोला भारतीय कमलका फूल रहेका छन्।

कुल २५ लाख ६३ हजार ४ सय रुपैयाँ मूल्य बराबरका ती फूल स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी गण झापाको कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया