एनपीएलमा विराटनगरसँग ४ विकेटले हार्दै लिग चरणबाटै बाहिरियो पोखरा
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरे । यस्तै, लोकेश बमले ३३ तथा इसुरु उडानाले आक्रामक ब्याटिङ गर्दै २५ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्षनले एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो । पोखराका लागि युवराज सम्राले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । धनञ्जय लक्षनले २२ र सनि बीकेले १२ रन जोडे ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा विराटनगरका सन्दीपले घातक बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । यसक्रममा उनले ह्याट्रिकसमेत पूरा गरे । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।
यस हारसँगै पोखरा एभेन्जर्सको प्लेअफ यात्रा समाप्त भएको छ । ६ खेलमध्ये पाँच खेलमा पराजित पोखरा लिग चरणबाटै बाहिरिएको हो ।
जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।
तपाईको प्रतिक्रिया