बिहीबार २६ कार्तिक २०८३
राजनीति

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी कारागारमुक्त

बिहीबार कार्तिक २६, २०८३/ Thursday 11-12-26

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

६५ वर्षीय रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । उनले ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि रिहा भएका हुन् ।

रायमाझीले काठमाडौँ जिल्ला अदालतमा ज्येष्ठ नागरिकको सुविधाअनुसार कैद छुटको माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले उनलाई कैदमुक्त गर्न कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।

कानुनअनुसार ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुटको सुविधा प्राप्त गरेपछि उनी कारागारबाट मुक्त भएका हुन् ।

 

तपाईको प्रतिक्रिया