बिहीबार २६ कार्तिक २०८३
समाज

मकवानपुरमा इभी दुर्घटना : मृतक १० मध्ये चार जनाको पहिचान खुल्यो, ६ जना घाइते

बिहीबार कार्तिक २६, २०८३/ Thursday 11-12-26

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये चार जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का करिब ३० वर्षीय रविशङ्कर कुमार मण्डल तथा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका चार वर्षीया दीपिका यादव, नौ वर्षीया शिक्षा यादव र विकेश यादव रहेका छन् । बाँकी छ जनाको पहिचान खुल्न सकेको छैन ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, आठ वर्षीय सुदीप यादव र बच्चु भनिने देवेन्द्र राय रहेका छन् ।

घाइते मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाही जाँदै थिए । गाडीमा सवार अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताएका छन् ।

दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । यद्यपि, चालकले पर्याप्त आराम गर्न नपाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा एक वर्षभित्र तीनवटा ठूला दुर्घटना भएको भन्दै सडक सुरक्षामा तत्काल सुधार गर्नुपर्ने बताएका छन् ।

उनले सडकका घुम्तीमा ऐना, ट्राफिक सङ्केतलगायत आवश्यक सुरक्षा संरचनाको अभाव रहेको औँल्याउँदै सुधारका विषयमा बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिएको जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया