शुक्रबार २९ श्रावण २०८३
राजनीति

जेनजी आन्दोलनका घाइते र सहिद परिवारका सम्झौता कार्यान्वयन गर्न समिति

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

काठमाडौं। सरकारले गत वर्ष भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले सरकार र जेनजी प्रतिनिधिबीच भएका सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत ‘एकीकृत प्याकेज’ कार्यान्वयनको प्रगति समीक्षा गर्नेछ।

समितिले विभिन्न मन्त्रालय र सरकारी निकायबीच समन्वय गर्दै घाइते तथा सहिद परिवारका शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विषयमा आवश्यक सहजीकरण गर्नेछ।

सम्झौता कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधानका लागि उपाय पहिचान गरी सम्बन्धित निकायलाई सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

समितिमा गृह, अर्थ, शिक्षा तथा खेलकुद, युवा तथा श्रम, पूर्वाधार विकास, स्वास्थ्य तथा सामाजिक सुरक्षालगायत मन्त्रालयका उपसचिव तथा जेनजी आन्दोलनका सहिद र घाइते परिवारका प्रतिनिधि सदस्य छन्। समितिको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका उपसचिव वासुदेव खनाल रहेका छन्।

तपाईको प्रतिक्रिया