शुक्रबार २९ श्रावण २०८३
राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा एमालेले समर्थन गरेको छ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए।

भट्टको शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ। उनले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

नेकपा र एमालेबीच मन्त्रालय भागबन्डामा सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउनेछन्। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये दुईको नेतृत्व पाउने बताइएको छ।

यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

तपाईको प्रतिक्रिया