खेलाडीको स्तर बढाउन सन्दीप लामिछानेलाई कप्तान बनायौँ : पारस खड्का
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिँदै ओडीआई टोलीको कप्तानी सन्दीप लामिछानेलाई दिने निर्णय भएको बताए।
आधुनिक क्रिकेटको आवश्यकता, खेलाडीको कार्यभार तथा सन् २०२७ र २०२८ का विश्वकपलाई लक्षित गर्दै फरक फर्म्याटमा फरक कप्तान नियुक्त गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।
खड्काले रोहित पौडेलको नेतृत्वमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गर्दै भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि नेतृत्वमा परिवर्तन गरिएको बताए।
भारतमा विशेष तयारी गरेपछि नेपाली टोली त्यहीँबाट मलेसिया जानेछ। मलेसियामा हुने एसीसी प्रिमियर कप नेपालका लागि महत्वपूर्ण छ, किनकि प्रतियोगिता एसिया कप छनोटको आधारसमेत हो।
क्यानले अब व्यवस्थापनसँगै क्रिकेटको समग्र विकासमा जोड दिने योजना अघि सारेको छ। नेपाली टोलीले एसीसी प्रिमियर कपसँगै आईसीसी विश्वकप लिग–२ र अस्ट्रेलिया भ्रमण गर्ने ‘ए’ टोलीका खेललाई पनि प्राथमिकतामा राखेको छ।
तपाईको प्रतिक्रिया