शुक्रबार २९ श्रावण २०८३
राजनीति

पूर्णबहादुर खड्का : मधेशको घटना ट्रेलर मात्रै हो, फिल्म सुटिङ हुनै बाँकी छ

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले तराई–मधेशमा हालै भएको घटनालाई ‘ट्रेलर’को संज्ञा दिँदै अझ गम्भीर परिस्थिति आउन सक्ने चेतावनी दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो अवस्था रोक्न नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताए ।

उनले २४ भदौदेखि सुरु भएको राजनीतिक घटनाक्रमको ‘रोडम्याप’ अझै जारी रहेको दाबी गर्दै विशेष महाधिवेशन वा आगामी २१ फागुनको निर्वाचनका नाममा त्यसलाई अघि बढाउन खोजिएको आरोप लगाए ।

‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी नराखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ,’ उनले भने, ‘त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ । मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’

खड्काले नेपालको राष्ट्रियता जोखिममा रहेको दाबी गर्दै त्यसको संरक्षणका लागि कांग्रेसको एकता पहिलो आवश्यकता भएको बताए ।

उनले सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँगको सम्बन्धमा समेत सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता,’ उनले भने, ‘यदि हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हाम्रा छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न सकेनौं भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ । त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ ।’

 

तपाईको प्रतिक्रिया